सिड्नी । विश्व प्रेस दिवसको अवसरमा नेपाल न्युज अस्ट्रेलियाले सिड्नीमा एक कार्यक्रमको आयोजना गरेको छ ।
नेपालको सशस्त्र द्वन्द्वकालमा कलम समातेकै आधारमा मारिएका पत्रकारहरुका सन्तानको अध्ययनका लागि सहयोग पुर्याउने उद्देश्यका साथ आयोजित उक्त कार्यक्रममा प्रजातन्त्रका लागि जहाज अपरहण डकुमेन्ट्रीको पनि प्रदर्शनी गरिएको थियो ।
उक्त बृत्तचित्रलाई पत्रकार जगत नेपालले बनाएका हुन् । कार्यक्रममा नेपाल प्रेस युनियनका अध्यक्ष बद्रि सिग्देलले पत्रकारका कलम र आवाज सधै लोकत्रन्त्रको पक्षमा हुनुपर्ने बताउँदै प्रजातन्त्रमा मात्रै प्रेस स्वतन्त्रताको ग्यारेन्टी हुने उल्लेख गरे । उनले प्रवासमा रहेर पनि नेपाली पत्रकारिता जगतको बिकासको लागि अस्ट्रेलियाका पत्रकारहरुले खेलेको भूमिकाको प्रशंसा गरे ।
नेपाली राजदूतावास क्यनावेराका नियोग उपप्रमुख राजेन्द्रप्रसाद पाण्डेले अस्ट्रेलियामा नेपाली पत्रकारिताको विकास हामी सबैले गौरव गर्न लायक भएको बताउँदै संचार जगतले समाज टुटाउन होइन समाज जुटाउन लाग्नु पर्नेमा जोड दिए ।
नेपाल प्रेस युनियनका पूर्व अध्यक्ष समीरजंग शाहले द्वन्द्वकालमा राज्य पक्ष र बिद्रोही पक्षबाट नेपालको संचार जगत प्रताडित हुनु परेको बताउँदै नेपालमा बहुदलीय व्यवस्थाको स्थापना भएपछि नेपाली संचार क्षेत्रले ठूलो फड्को मारेको उल्लेख गरे ।
एनआरएन अस्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देलले अस्ट्रेलियाको नेपाली समुदायको हक हितको लागि संचार क्षेत्रसंग हातेमालो गर्दै अगाडि बढ्न आफूहरु तयार रहेको बताउँदै समाचार प्रकाशन गर्दा बिक्नेभन्दा टिक्ने खालका हुन सक्यो भने सामाजिक भातृत्वको विकास हुने विचार व्यक्त गरे ।
कार्यक्रममा द्वन्द्वकालमा राज्य पक्षवाट पीडित पत्रकार मनऋषी धिताल, नेपाल न्युज अस्ट्रेलियाका प्रधान सम्पादक माधव गैह्रे, सम्पादक कृष्ण तिवारी, म्यनेजिंग डाइरेक्टर हेमन्त काफ्लेलगायतले आ-आफ्नो विचार राखेका थिए ।
सो अवसरमा कार्यक्रमका कलाकारहरु नरेश रेग्मीले गाएको गीत र समानता लामाको नृत्यबाट उपस्थित सबैले भरपुर मनोरञ्जन लिएका थिए । सिड्नीमा रहेका नेपालीहरुको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रममा बिकाश दवाडीले आफ्नो कविता बाचन गरेका थिए ।


0 comments :
Post a Comment